काठमाडौं– उपचारका क्रममा काठमाडौंमा निधन भएका बेवारिसे अवस्थाका बेलायती नागरिक फिलिप माल्कोमको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । माल्कोमको हिन्दू संस्कार अनुसार पशुपति आर्यघाटमा मंगलबार(हिजो) साँझ अन्त्येष्टि गरिएको हो ।
उनको उपचार लगायतमा सक्रिय रहेका विनय जंग बस्नेतको टोलीले माल्कोमको अन्तेष्टि हिन्दू संस्कृति अनुसार गरेका हुन् । माल्कोमको अन्त्येष्टिमा उनकी प्रेमिकाको दाबी गर्ने युवतीको पनि उपस्थिति रहेको थियो । नर्भिक अस्पतालमा उपचारको क्रममा माल्कोमको शनिवार निधन भएको थियो ।
टेकु अस्पतालबाट वीर अस्पतालमा उपचारका लागि पुर्याइएका माल्कोमको अवस्थाबारे खबरहबले समाचार प्रकाशन गरेपछि केही युवाहरुले उनको थप उपचारका लागि भन्दै काठमाडौं मेडिकल कलेज लगेका थिए । त्यहाँबाट माल्कमलाई नर्भिक अस्पताल लगिएको थियो । २६ मार्चमा नर्भिक पुगेका माल्कोम धेरै खालको रोगबाट पीडित रहेको अस्पतालले जनाएको थियो ।
माल्कोमकमा हेपाटाइस्टिस्ट सी देखिएको थियो र स्वास्थ्यमा सुधार आएपछि एमआइसीयुबाट वार्डमा सारिएको थियो । तर शनिवार विहान एक्कासी रक्तसञ्चार तल झरेको र स्वासप्रस्वासमा समस्या आएपछि उनको निधन भएको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सकले बताएका थिए ।